इटहरी : इटहरीमा जारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको तेस्रो दिन भएको खेलमा त्रिभुवन आर्मी क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा सोमबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाले गोल गरे । विवेक पौडेल, आशिष चापागाई र देवेन्द्र तामाङको प्रहार गोल हुन सकेन ।
आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेमान घलले गोल गरे । कमल थापाको प्रहार बिर्तामोडका गोलरक्षक विवेक मगरले रोके ।
त्यसअघि निर्धारित समयको ८१ औं मिनेटमा आशिष चापागाईले पेनाल्टीमार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ६ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा बिर्तामोडका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
सोमबारको खेलको म्यान अफद म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित हुँदै नगद १० हजार पाए ।
मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाण्डौँ र न्यूरोड टिम एनआरटीबिच प्रतिष्पर्धा हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
खेलको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Discussion about this post