विराटनगर : सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ ।
विराटनगर ५ स्थित सहारा एनिमल केयरमा शनिबारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो । विभिन्न वडाबाट सामुदायिक कुकुरलाई सो स्थानमा ल्याएर बध्याकरण गरिने महानगरका मेयर नागेश कोइरालाले बताए ।
यसरी बन्ध्याकरण गरिएका कुकुरलाई रेविज खोपसमेत लगाइनेछ । मेयर कोइरालाले सामुदायिक कुुकुरको त्रासबाट महानगरवासीलाई मुक्त गर्ने बताए ।
उनले सामुदायिक कुकुरका कारण मर्निङ वाक, इभिनिङ वाकमा समस्या भएको गुनासो आउने गरेको बताउँदै सडक तथा सामुदायिक कुकुरको संख्या वृद्धि नहोस् भनेर यसअघि पनि महानगरको अग्रसरतामा बन्ध्याकरण गरिएको बताए ।
वडा नम्बर ५ मा डा. रश्मी थापाको नेतृत्वमा १० कठ्ठा जमिन लिजमा लिएर कुकुरका लागि अस्पताल सुरु गरिएको छ ।
सोही स्थानमा आगामी असार पहिलो सातासम्म पोथी कुकुरको बन्ध्याकरण गरिनेछ । असारसम्म करिब दुई सय कुकुरको बन्ध्याकरण गरी रेविजको खोप लगाउने लक्ष्य राखिएको महानगरको पशुपंशी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।
कुकुरको बन्ध्याकरणका लागि महानगरले चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
नियन्त्रणमा लिएको कुकुरलाई अस्पतालमा एक दिन राखेर मात्रै बन्ध्याकरण गरिनेछ । बन्ध्याकरणपछि पनि पोषिलो खानेकुरा खुवाएर दुई दिन राखिनेछ ।
सवारी साधनबाट जोगाउन बन्ध्याकरण गरिएका कुकुरको घाँटीमा टल्किने बेल्टसमेत बाँधिने डा. रश्मी थापाले बताइन् । विराटनगरलाई जनावरमैत्री सहर बनाउन आफूले अभियान सञ्चालन गरेको डा. थापाले बताइन् ।
Discussion about this post