इटहरी : कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले इटहरीमा आयोजित कविता कन्सर्ट कार्यक्रममा आफ्नो प्रस्तुति दिएका छन् ।
शनिबार साँझ लायन्स क्लबको सभाहलमा आयोजना गरिएको कविता कन्सर्ट कार्यक्रममा कवि सुब्बाले आफ्ना एक दर्जन कविता सुनाएका थिए ।
पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर समापन भएको हो । लियो काउन्सिल डिस्ट्रिक २३५ सि नेपालको आयोजनामा भएको कार्यक्रममा कवि सुब्बाले कविता वाचन गर्दा दर्शकदीर्घबाट वाहवाहीको आवाज आइरहेको थियो ।
कार्यक्रममा अभिनेत्री मिरुना मगर र अभिनेता प्रविण खतिवडाले वाचनका लागि सहयोगसमेत गरेका थिए ।
यही वैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘मनसरा’का लेखक तथा निर्देशनसमेत रहेका सुब्बाले चलचित्र हेर्न पनि आग्रह गरे ।
युवा पुस्तालाई कविता लेखन र पठनमा आकर्षित गर्न सन् २०१८ बाट इटहरीमा कविता कन्सर्टको आयोजना गर्न थालिएको अभियन्ता युवराज काफ्लेले बताए ।
उनका अनुसार पहिलो र दोस्रो संस्करणमा कवि नवराज पराजुली, तेस्रो संस्करणमा कवि नदिश र चौथो संस्करणमा कवि सुब्बाले प्रस्तुति दिएका हुन् ।
कार्यक्रममा कविहरूका तर्फबाट डा.रामजी तिम्सिनाले मन्तव्य राखेका थिए ।
डिस्ट्रिक प्रेसिडेन्ट नवराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम विनु वान्तवा राईले सञ्चालन गरेकी थिइन् भने कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि रहेका थिए ।
भिडियो
Discussion about this post