इटहरी : होटेल व्यवसायी संघ इटहरीमा किचलो भएको छ । विधान विपरीत कार्यबाहक अध्यक्षले कार्यसमितका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यलाई हटाएका छन् ।
आफूहरूलाई बिनाकारण र थाहै नदिइकन समितिबाट हटाइएपछि सोमबार पत्रकार सम्मेलन गरी असन्तुष्ट समूहले भत्र्सना गरेको छ ।
होटेल व्यवसायी संघका तत्कालीन अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका वर्तमान अध्यक्ष जीवन पराजुलीले विधानमै नभएको महासचिव पदमा जयप्रसाद उपाध्यायलाई नियुक्त गरेको र विधान मिचेर उनै महासचिवलाई कार्यबाहक अध्यक्षसमेत दिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘विधानमा महासचिव भन्ने पद नै छैन, हुँदा सचिव मात्रै हुने व्यवस्था छ,’ होटेल व्यवसायी संघका उपाध्यक्षसमेत रहेका प्रकाश महतोले पत्रकार सम्मेलनमा भने, ‘कार्यबाहक अध्यक्ष उपाध्यक्षले पाउने हो कि, महासचिवले ?’
उनले अध्यक्ष पराजुली र उपाध्यायले मनोमानी गरेको बताए ।
इलामको श्रीअन्तुमा व्यवसाय गर्दै आएका उपाध्यायको इटहरीमा कुनै होटेल व्यवसाय नभएको दाबी गर्दै महतोले आफूसहित समितिका कोषाध्यक्ष बाबुराम गिरी र सदस्य कृष्ण पराजुलीलाई चैत्र २७ गतेको मितिमा समितिबाट हटाइएको पत्र चार दिनअघि मात्रै प्राप्त भएपछि आपत्ति जनाउन बाध्य भएको बताए ।
उपाध्यायलाई पराजुलीले एक वर्षभन्दा अघि नै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएपनि आफूहरू चुप लागेपनि अहिले भने कार्यबाहक अध्यक्षले नै कारणबिना आफूहरूलाई कार्यसमितिबाट हटाउनु हदैसम्मको मनोमानी भएको महतोको भनाइ छ ।
‘जीवन पराजुलीले आफ्नो लाभको लागि मात्रै काम गर्दै आउनुभएको छ,’ आक्रोशित मुद्रामा रहेका महतोले भने, ‘उहाँहरूले अराजकता देखाउनुभयो । हामीमाथि न्याय नभए यो मुद्वा अदालतसम्म पुग्छ ।’
पराजुली र उपाध्यायले संस्थाको लेटर प्याडमा विधानमा व्यवस्था भएको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी सबै सदस्य गरी ११ जनाको कार्यसमिति रहने व्यवस्था भएको बताइएको छ ।
सो व्यवस्था भएपनि विभिन्न पद सिर्जना गरी २१ जनाको कार्यसमिति पु¥याएर विधान विपरीत काम गरेको होटेल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवम् कोशी प्रदेशका निवर्तमान अध्यक्ष मणिन्द्रबहादुर कटुवालले बताए ।
आफ्नो कार्यकालमा बनेको विधानलाई तोडमोड गरेर गैरकानुनी गतिविधि गरिएकोमा उनले आपत्ति जनाए ।












Discussion about this post