इटहरी : इटहरीमा जारी अजय–विजय स्मृति गोल्डकपको सेमिफाइनलमा चुलाचुली फुटबल क्लब दमक सेमिफाइनलमा प्रवेश गरेको छ ।
संकल्प युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको खेलको दोस्रो दिन आइतबार भएको प्रतियोगितामा दमकले इनरुवा सिटी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
उद्घाटन खेलमा भने पेनाल्टीमार्फत पूर्वाञ्चल युनाइटेड क्लबले सेमिफाइनलका लागि सिट सुरक्षित गरेको छ । पूर्वाञ्चलले धरान सिटी फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आइतबारको खेलमा विदेशी खेलाडी फोफोना म्यान अफ दि म्याच घोषित हुँदै नगद एक हजार पाँच सय ५५ रुपैयाँ हात पारे ।
आयोजक कमिटिका अध्यक्ष सोमित क्षेत्रीका अनुसार खेलमा आठवटा टिम सहभागी छन् । फाइनल खेल आगामी शनिबार रक्तमाला खेलमैदान, इटहरी ५ मा आयोजना हुनेछ ।
खेलको विजेता टिमले नगद ५५ हजार र उपविजेता टिमले नगद ३५ हजारसहित ट्रफी हात पार्ने क्षेत्रीले जानकारी दिए ।
Discussion about this post