इटहरी : इटहरी उपमहानगरपालिकाले गत चैत १३ गतेबाट टेङ्ग्रा खोला सरसफाई गर्दै, सीमा क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियान चलाएपनि अविरल वर्षासँगै आएको बाढीले घरहरू भत्किएका छन् ।
इटहरीलाई डुबानरहित बनाउन र बर्सेनि आउने बाढीबाट हानी हुन नदिन उपमहानगरले खोला सफाइ अभियान चलाएपनि सम्भावित जोखिमलाई समेत ध्यान नदिई खोलालाई उत्खन्न गरेपछि इटहरी वडा नं. १२ र १३ का खोला छेउछाउ घरहरू भत्किएको हो ।
यससँगै बुधबार पीडितहरूले इटहरी उपमहानगरपालिका परिसरमा घेराउ गरेका छन् । इटहरी १२ मा बाढीले घर भत्किएपछि समस्या निम्तिएको स्थानीय निर्मल तिम्सिनाले बताए ।
‘जब वर्षा सुरु हुन्छ, तब खोला उत्खनन गरिन्छ । खोला छेउछाउका आधा घरहरू बाढीले बगाएको छ । खोला तर्न बनाएका पुलसमेत बाढीले क्षति पु¥याएको छ,’ उनले भने, ‘खोला सफाइ गर्दा जेसिबीले जथाभावी खनेको र आवश्यक सुरक्षाको उपाय नअपनाउँदा कमजोर बनेको माटो सामान्य बाढीले पनि कटान भएको छ ।’
गएरातिको बाढीका कारण इटही १३ मा ६ घर विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी विपिन रेग्मीका अनुसार स्थानीय देवीकुमारी कार्की, रञ्जु सरदार, गंगा गौतम र तुलसा काफ्लेलगायतको घर कटानमा परेपछि विस्थापित भएका छन् ।
इटहरी उपमहानगरको लापरबाहीका कारण बाढी घरमा पसेको र विस्थापित हुनुपरेको पीडितहरूको भनाइ छ ।
इटहरी २ को तालतलैया क्षेत्रबाट सुरु भएको खोला सफाइ अभियानको क्रममा ५७ वटा अवैध संरचना हटाइएको उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए ।
टेङ्ग्रा खोलापछि उपमहानगरले खेतीखोलाको सीमाभित्र पर्ने अवैध संरचना ३५ दिनभित्र हटाइसक्न सम्बन्धित घरधनीहरूलाई आग्रह गरेको छ । उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरिसकेको भन्दै यो काम अब नरोकिने जनाएको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले निर्वाचनका समयमा स्थानीय मतदातासँग मत माग्न जाँदा इटहरीलाई डुबान हुन नदिने वाचा गरेका थिए । खोला सफाइ गर्दा साविकको गहिराइसम्म सफा गर्नुपर्नेमा गहिरोमा भने ध्यान दिएको नपाइएको स्थानीयबासीको भनाइ छ ।
पीडितहरूले विरोध जनाएपछि मेयर पौडेलले खोला किनारमा तटबन्ध बाँध्ने आश्वासन दिएका छन् ।
भिडियो














Discussion about this post