इटहरी : इटहरीमा बाटै छेकेर पार्किङ शुल्क उठाएको गुनासो आएपछि उपमहानगरले यस वर्षदेखि ठेक्का प्रक्रिया हटाएको छ ।
इटहरी प्रवेश गर्नका लागि गुडिरहेका गाडीहरूलाई बाटै छेकेर पार्किङ शुल्क उठाइदैँ आएको थियो । यस वर्षदेखि ठेक्का प्रक्रिया हटाइएको उपमहानगरले जनाएको छ ।
राजस्व शाखा प्रमुख सन्तोष ढकालका अनुसार इटहरी ९ मा बसपार्क निर्माणाधीन रहेकोले यो आर्थिक वर्षमा पार्किङ ठेक्का नलगाउने निर्णय भएको छ ।
कसैले अनाधिकृत रूपमा पार्किङ शुल्कको नाममा रकम संकलन गरेको पाइए खबर गर्नसमेत उनले अनुरोध गरे । यससँगै गुडिरहेका गाडीहरूले अब पार्किङ शुल्क तिर्नुपर्ने छैन ।
‘अनाधिकृत रूपमा पार्किङ शुल्क लिएको पाइए तत्काल उजुरी दिन आग्रह गर्दछु,’ उनले भने, ‘गुडिरहेको गाडीलाई जथाभावी रोकेर शुल्क लिइँदा दुर्घटनाको जोखिमसमेत रहेको कुरालाई मध्यनजर गर्दै ठेक्का प्रक्रिया यस वर्षदेखि हटाइएको हो ।’
तोकिएको पार्किङ स्थलमा रोकिएका सवारी साधनसँग मात्र पार्किङ शुल्क लिने प्रावधान ऐनमा छ । तर इटहरीमा आधिकारिक पार्किङ स्थल कतैपनि छैन ।
उपमहानगरपालिकाले बर्सेनि पार्किङ शुल्क भनेर गुडिरहेको गाडीलाई पार्किङ शुल्क उठाउँदै आएको थियो । यसले दुर्घटनाको जोखिमसँगै गाडी चालकहरूसमेत आजित थिए ।
इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पार्किङ शुल्कका लागि एक करोड ५२ लाखमा नमुना कन्ट्रक्सन बराहक्षेत्र ५ लाई ठेक्का दिएको थियो ।
इटहरीको विराटनगर लाइन, पश्चिम लाइन, पूर्व लाइन र भित्री बाटाहरूमासमेत पार्किङ शुल्क उठाइँदै आएको थियो । बाटामा हिँड्ने चारपाङ्ग्रे सवारीसाधन र तीन पाङ्ग्रे ई–रिक्सालाई बाटै छेकेर पार्किङ शुल्क उठाउँदा सवारी धनीहरू आजित बनेको भन्दै पटकपटक इटहरी सरकारको आलोचना भएको थियो ।
बाटै छेकेर पैसा नउठाउन उपमहानगरले पटकपटक आग्रह गरेपनि ठेक्का पाएको कम्पनीले भने बाटै छेकेर शुल्क उठाउँदै आएको थियो ।
भारतबाट आउने पर्यटकहरू पनि बाटै छेकेर शुल्क तिर्न बाध्य हुँदा समस्यामा पर्दै आएका थिए । खासगरी नगरले तोकिएको पार्किङ स्थलमा रोकिएका सवारी साधनसँग मात्र पार्किङ शुल्क लिने प्रावधान ऐनमा रहेपनि जथाभावी शुल्क उठाइँदै आएको थियो ।
यो पनि – पार्किङस्थल नै नभएको इटहरीमा बाटै छेकेर उठाइन्छ पार्किङ शुल्क !
Discussion about this post