विराटनगर : विराटनगर विद्यालय नाटक महोत्सवको पाँचौ दिन बुधबार‘रङ’ मञ्चन भएको छ । हाटखोलास्थित गुरुकुलमा ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक पशुपति रिमालद्धारा निर्देशित नाटक मञ्चन गरेको हो ।
विद्यार्थीहरू चर्चिता अधिकारी र दित्शा लुईँटेलद्धारा लिखित उक्त नाटकले विधवासँग सम्बन्धित रुढिवादी नेपाली समाजको अवस्था चित्रण गरेको छ ।
गुरुकुलका प्रदीप दाहालले सहजीकरण गरी तयार भएको उक्त नाटकमा लेखकद्वयसँगै आयुष चन्द्र रेग्मी, सम्पदा निरौला, सिवानी रजक, रोनक यादव, विश्वदीप राई लगायतले अभिनय गरेका थिए ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा शनिबारदेखि सुरु भएको महोत्सवमा बिहीबार पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन गर्नेछ ।
भदौ ३१ गतेसम्म बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरूले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् ।
शुक्रबार नमुना विद्या मन्दिरले जिम्मेवारी कसको ?, शनिबार मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले स्मार्ट बन्द, आइतबार सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गर्नेछ ।
महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।
Discussion about this post