इटहरी : सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ को दियालो जनकल्याण क्लबद्वारा आयोजित दोस्रो ६४ बिघा च्यालेन्ज कप २०८१ फुटबल प्रतियोगिताको उपाधि इटहरीको तालतलैया फुटबल क्लबले हात पारेको छ ।
पञ्चायत माविको ग्राउन्डमा सम्पन्न खेलमा बराहक्षेत्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै तालतलैयाले उपाधि हात पारेको हो ।
दोस्रो हाफको सुरुआती चरणमै तालतलैयाका लागि सनिष लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेल अवधिभर दुवै टिमबाट थप गोल हुन नसकेपछि सनिषको गोल नै प्रतियोगिताको निर्णायक गोल बन्न पुगेको थियो ।
विजेता तालतलैया फुटबल क्लबले ५१ हजार नगद पुरस्कारसहित ट्रफी तथा मेडल प्राप्त गरेको छ । उपविजेता बराहक्षेत्र फुटबल क्लबले नगद ३१ हजारमा चित्त बुझायो ।
विधागत उपाधितर्फ तालतलैयाका क्याप्टेन लेनिन राई उत्कृष्ट डिफेन्डर, सनिष लिम्बू म्यान अफ दि म्याच तथा विस्नु श्रेष्ठ उत्कृष्ट फरवार्ड घोषित भए । त्यस्तै, बराहक्षेत्रका खेलाडि विसन राई, उत्कृष्ट गोलरक्षक तथा रुपेस भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कारसहित मेडल प्राप्त गरे ।
खेलमा पूर्वका १२ वटा क्लब सहभागी रहेका थिए ।
Discussion about this post