विराटनगर : विराटनगर महानगरपालिकाले माछा–मासु पसलको अनुगमन सुरु गरेको छ ।
दशैंलगायतका चाडपर्वको मौका छोपी व्यवसायी माछा–मासु निर्देशिका विपरीतको कार्य गर्ने सम्भावना बढेका कारण महानगरले अनुगमन सुरु गरेको हो । अनुगमन टोलीले महानगर क्षेत्रभित्र सञ्चालित सबै माछा–मासु पसलको अनुगमन गर्ने जनाएको छ ।
महानगरपालिकाका तर्फबाट राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतमा उपस्थितिमा अनुगमन गरिएको थियो ।
टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायत हेरेको थियो ।
अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक–तराजुमा कैफियत, पसलभित्रको सरसफाईमा कमजोरी भेटिएको अनुगमन टोलीमा संलग्न हिरालाल यादवले जानकारी दिए । उनका अनुसार निर्देशिका विपरीत सञ्चालित माछा–मासु पसललाई सात दिनभित्र सुधार गर्ने मौका दिइएको छ ।
तोकिएको मितिमा सुधार नभए ती पसललाई कारबाही गरिने यादवको भनाइ छ । अनुगमनलाई महानगर क्षेत्रभित्र प्रभावकारी रूपमा सञ्चालित गरिने कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए ।
विराटनगर क्षेत्रभित्र करिब तीन सय मासु पसल सञ्चालनमा रहेका छन् । त्यसमध्ये करिब ५० प्रतिशत मात्रै महानगरमा दर्ता भएको यादवले बताए ।
Discussion about this post