विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरूमा असोज ३० गते विविध कार्यक्रमहरूको आयोजना गरी “६९ औ प्रहरी दिवस २०८१” मनाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा आयोजित कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई दिएको शुभकामना सन्देश कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाताहरू, प्रहरी कार्यमा सहयोग पुर्याउने तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, विधागत पुरस्कारका संस्थापकहरूलाई सम्मान गरे ।
साथै, विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रमाण पत्रसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका कर्मचारीहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जन प्रतिनिधिहरू, समाजसेवी, अमर प्रहरी परिवारजनहरू, पूर्व प्रहरीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरूको उपस्थिति थियो ।














Discussion about this post