इटहरी : इटहरी उपमहानगरपालिका १० की सुवेक्षा खत्रीलाई एमबीबीएस पढ्न मेयर हेमकर्ण पौडेलले १५ लाख रुपैयाँ दिने सहयोग घोषणा गरेका छन् ।
उनले बिहीबार छठ पर्वको अवसर पारेर सम्बोधन गर्दै व्यक्तिगत तर्फबाट ५१ हजार र उपमहानगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ सहयोग स्वरूप दिने घोषणा गरेका हुन् ।
कमजोर आर्थिक अवस्थाकी खत्री आर्थिक अभावकै कारण एमबीबीएस अध्ययन गर्न समस्या भइरहेको बेला मेयर पौडेलले उक्त रकम दिने घोषणा गरेका हुन् । मेयर पौडेलले इटहरीबासीका आधारभूत आवश्यकताहरू पूरा गर्न स्थानीय सरकार दिनरात लागिरहेकोसमेत बताए ।
छठ सेवा समिति इटहरीका अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा सम्पन्न छठ पूजा समारोहमा विभिन्न व्यक्तिहरूलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
हिरा महतो स्मृति अक्षयकोषबाट खत्रीले नगद २१ हजार प्राप्त गरिन् । तयसपछि मेयर पौडेलले व्यक्तिगत रूपमा थप ५१ हजार रूपैयाँ प्रदान गर्ने वचन दिएका हुन् ।
सुभेक्षाले छात्रवृत्तिमा उत्कृष्टता प्राप्त गरेको भएपनि खर्च अभावले आफ्नो डाक्टर बन्ने सपना त्याग्नुपर्ने अवस्थामा पुगेकी थिइन् । उपमहानगरले सुवेक्षाको पढाइमा लाग्ने खर्चमध्ये १५ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनले आफ्नो सपना पूरा हुने जनाएकी छन् ।
यसैगरी नन्दलाल अग्रवाल स्मृति अक्षयकोषबाट सुन्दरहरैंचा ६ की मनिषा कार्कीले ११ हजार प्राप्त गरिन् भने रामनारायण साह स्मृति अक्षयकोषबाट इटहरीकी अनुषा चौधरीले पाँच हजार एक सय रूपैयाँ प्राप्त गरिन् ।
Discussion about this post