विराटनगर : विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिउ वितरण गरेको छ ।
बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा ५० प्रतिशत अनुदानमा विराटनगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बिउ वितरण गरिएको हो ।
कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बिउ वितरण गरेका हुन् ।
महानगर क्षेत्रका एक सय ८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी (पाइनर जात ३३५५) को मकैको बिउ वितरण गरिएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।
बिउले करिब २६ हेक्टर जमिनमा खेती गर्न सकिनेछ । उनका अनुसार कृषि सहकारी, कृषि फर्म र कृषक समूहमार्फत सम्बन्धित किसानलाई वितरण गरिनेछ ।
महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ७ सय हेक्टरमा मकै खेती हुने गरेको छ ।
Discussion about this post