विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता स्वच्छ, मर्यादित एवं सशक्त हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखा कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरूको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरूको सामूहिक हक, हित र अधिकारको रक्षा गर्ने महासंघको नेतृत्व सर्वसहमतिमा तय हुनुपर्ने धारणा राखे ।
उनले सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छान्ने काम भए खर्च कम हुने समेत बताए ।
मुख्यमन्त्री कार्कीले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारिता क्षेत्र सत्य एवं तथ्यमा आधारित हुनुपर्ने बताउँदै संविधानको सर्वोच्चता, मानवअधिकार, लोकतन्त्रका निम्ति नेपाली पत्रकारिता क्षेत्र एकजुट भएर लाग्नुपर्ने विचार राखे ।
उनले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयकसहित थप अन्य विधेयक सदनमा ल्याउने जानकारी दिँदै पत्रकारहरूको वृत्ति विकासका लागि प्रदेश सरकारले लागनी गर्ने बताए ।
प्रदेश सरकार आफैँले लगानी सम्मेलन गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा ५० औँ अर्ब रुपैयाँ भित्रिने अनुमान रहेको बताए ।
लगानी सम्मेलनपछि कोशी प्रदेश भ्रमण वर्ष सुरु हुने र त्यसपछि अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘यो सबै कामहरू प्रदेशको सम्वृद्धि र विकासका लागि भएकोले पत्रकारहरुले पनि यसको प्रचार प्रसारमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा महासंघका कोशी प्रदेशका पूर्व अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष लीलावल्लभ घिमिरे, पत्रकारहरू मोहन भण्डारी, यज्ञ शर्मा लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिएका थिए ।














Discussion about this post