विराटनगर : विराट मेडिकल कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा विजिता अर्याल प्रथम भएकी छन् ।
‘विराट फिस्टा–२०२४’ अन्तर्गत शनिबार आयोजित कविता प्रतियोगितामा ‘आजको आज’ शीर्षकको कविता प्रस्तुत गरेर विजिता प्रथम भएकी हुन् ।
कवि एवं पत्रकार मीनकुमार नवोदित निर्णायक र कवि डा. सूर्य पराजुली (एसपी लोचन) निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेका हुन् ।
प्रतियोगितामा ‘खाली आँगन अनि हराएका खुसीहरू’ कविता वाचन गरेर श्रद्धा दाहाल द्वितीय हुँदा ‘गाँजा र मेरो देशको वेदना’ कविता वाचन गरेर जेनिशा परियारले तृतीय स्थान हासिल गरिन् । ‘सोच’ शीर्षकको कविता वाचन गर्ने हर्षवर्धन सिंह र ‘जनस्वास्थ्य एक समकालीन मुद्दा’ शीर्षकको कविता प्रस्तुत गरेर स्मृति अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
मेडिकल कलेजमा एमबीबीएस, विएससी नर्सिङ, नर्सिङलगायत विभिन्न विभागमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।
विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक डा. पराजुलीले जानकारी दिए ।
कार्यक्रममा निर्णायक नवोदितले मेडिकल अध्ययन गरेका व्यक्ति पनि साहित्य, गीतसंगीत र कला क्षेत्रको माथिल्लोस्तरमा पुगेको बताए ।
नेपाली साहित्यमा थुप्रै चिकित्सकहरू पनि साहित्य, कला र गीतसंगीतमा रहेको चर्चा गर्दै नवोदितले पाठ्यक्रमभित्रको अध्ययनसँगै बाहिर ज्ञानलाई पनि फराकिलो बनाउन आग्रह गरे ।
साहित्यिक अध्ययनमार्फत ज्ञानको भण्डारलाई वृहत्त बनाउन सकिने उनको विचार थियो । कार्यक्रममा कलेजका विद्यार्थी विपास्ना खरेल, साजन यादव, गौरव विकलगायतले गीत र अप्रतियोगी सिर्जना वाचन गरेका थिए ।
Discussion about this post