विराटनगर : नेपालको मौलिक साँस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निभएको भूमिका प्रशंसनीय रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
आज तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले शुभकामना वक्तव्यमा भनेका छन्, ‘तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’
आजकै दिन परेको किराँत कुलुङ जातिको महान चाड मिनारी दाचाम चासुम्लो निङ्दोङ चाक्चाकुर तथा येलेदोङको सुखद अवसरमासमेत शुभकामना व्यक्त गरे ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको नया वर्ष (तमु ल्होसार) पर्वलाई हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
गुरुङ समुदायको बाहुल्यता रहेका कोशीका पहाडी र हिमाली जिल्लासहित तराईमा पनि यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।
तमु ल्होसारको दिन गुरुङ समुदायका महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुषहरू टोपी, भोटोमाथि भाङ्गो, कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।














Discussion about this post