इटहरी : कवि सुरज रानाको कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन भएको छ ।
शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो ।
कवि राना इटहरीमै बसेर कविता लेखनमा सक्रिय भएपनि पछिल्लो समय काठमाडौँमा बसेर कविताकर्म गर्दै आएका छन् ।
रानाले उक्त सङ्ग्रहमा ४५ वटा कविता समावेश गरेका छन् । कवि सुदीप पाख्रिनले सङ्ग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो ।
त्यसपछि कवि टीका आत्रेयले ‘सपना–जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता वाचन गरे ।
कविता सङ्ग्रहमाथि कवि सीमा आभासले चर्चा गरिन् । कविले आफ्नो पहिचान र समुदायको कुरा कवितामार्फत पनि भन्न सकिने र उक्त सङ्ग्रहभित्र विद्रोहको स्वरसमेत रहेको उदृत गरिन् ।
‘कविले आफ्नो समुदायका मुद्वा ल्याउनपर्छ । त्यसमा सुरज सफल भएका छन्,’ उनले भनिन्, ‘लेखकलाई आफ्नोपनको छाप बनाउने चुनौती छ । म अरूभन्दा अलग हो भन्ने देखाउन चुनौतीमा हामी सबै छौँ । त्यो चुनौतीलाई चिर्नका निम्ति कवितामा आफ्नोपन आवश्यक हुन्छ ।’
यसैगरी कार्यक्रमको अर्को खण्डमा ‘सुरजसँग संवाद’ कार्यक्रम आयोजना गरियो । जसमा कवि रानासँग अमित थेवेले प्रश्नोत्तर गरे । कविता लेखन, सङ्ग्रह, पहिचान, सम्भव समूहलगायतबारे प्रश्नोत्तर भएको थियो ।
कार्यक्रममा कविहरूलाई कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, कविहरू देवान किराती, डा. अस्मिता विष्ट, हेमन यात्री, एकु घिमिरे, किरण.टी लिम्बू, भरत दाहाललगायतले मायाको चिनो वितरण गरे ।
क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।














Discussion about this post