धरान : कवि प्रेमप्रकाशको कविता सङ्ग्रह ‘रगतको तर्पण’माथि धरानमा चर्चा गरिएको छ ।
शनिबार बिहान कलरव धरानले सङ्ग्रहमाथि चर्चा गरेको हो । कृतिमाथि डा. अस्मिता विष्ट र कवि अमित थेबेले चर्चा गरे । यसैगरी कविहरू युग सर्वनाम, विशाल नाल्बो र सबिता फागोले कविता वाचन गरे ।
वक्ता विष्टले कविहरूले आफ्नै समुदाय निर्माण गरेको र उक्त समुदाय भनेको कविहरूकै रहेको उदृत गरिन् ।
‘कविको युद्व कहिल्यै सकिदैंन, सधैँ जारी रहन्छ,’ उनले भनिन्, ‘कविता लेख्नु भनेको आफूभित्रको भाव प्रस्तुत गर्नु मात्रै होइन, समाजप्रतिको जिम्मेवारी पनि हो ।’ इतिहास र दर्शनले बोक्न नसकेको कुरा कविताले बोक्ने उनले सुनाइन् ।
अर्का वक्ता थेबेले कविताले युद्धको आवाज बोलेको र उक्त सङ्ग्रहमा प्रेमको कुरा पनि उठान गरिएको बताए । तीन खण्डमा विभाजित सङ्ग्रहले नेपाली कविता क्षेत्रमा एउटा इट्टा थपेको उनले बताए ।
कवि प्रेमप्रकाशले भने आफू रोल्पा निवासी रहेको र रोल्पा भनेको जनयुद्धबाट प्रभावित भएको बताए । उनले भने, ‘रोल्पाले आफ्नो कुरा लेख्न अझै धेरै बाँकी छ ।’
आयोजक कलरव धरानका अध्यक्ष कवि सुदीप पाख्रिनले प्रेमप्रकाशको कविताले रोल्पाको भूगोलसँगै संस्कृतिलाई पनि उठाएको बताए ।
Discussion about this post