इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा हिसान स्पोर्टस् मिट यही माघ १३ गतेदेखि हुने भएको छ ।
हिसान सुनसरीले पत्रकार सम्मेलन गरी ११ औँ संस्करणको स्पोर्ट्स मिट माघ १३ देखि १९ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो ।
एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरूमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए ।
उनका अनुसार विगत दुई वर्षदेखि सुरु गरिएको हिसान इटहरी रन यसपटक ८ किलोमिटर दूरीमा राखिएको छ । जसका लागि धरान रनसँग सहकार्य गरिएको र फर्मसमेत खुलिसकेको उनले बताए ।
कार्यक्रम संयोजक सुभाष लुइँटेलका अनुसार स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरीको तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा हुनेछ ।
विद्यालयस्तरमा १४ विधाका ४२ खेल र प्लस टु स्तरमा भने १३ विधाका ३३ खेल हुने उनले बताए । विजेता खेलाडी तथा विद्यालयहरूलाई नगदसहित पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Discussion about this post