धरान : आख्यानकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’माथि धरानमा विमर्श भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन भएको उपन्यासको साहित्यकार उषा शेरचन, समालोचक विन्दु शर्मा र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेलाले संयुक्त लोकार्पण गरेका थिए ।
कलरव धरानले प्रकाशित गरेको उपन्यास ‘प्याउली’को धरानमा विमर्श कार्यक्रममा कथाकार विना थिङ तामाङ, समालोचक डा. अस्मिता विष्टले आफ्ना विचार प्रस्तुत गरे भने कोशी प्रदेश सांसद कवि मीना श्रेष्ठले सभाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।
कार्यक्रममा थिङले बालिकाको ‘प्याउली’ उपन्यास नारीवादी आख्यान भएको बताइन् ।
उनले भनिन्, ‘यो उपन्यास पढिसक्दा मलाई थाहा थिएन कि एउटी लेखिकाको आफ्नै जीवनको कथा भनेर । स्वयम् उपन्यासकारले भर्खर भने पछि मात्र थाहा भयो । आफ्नै जीवनका घटनालाई कुनै पात्रमार्फत यति राम्रो शैलीमा व्यक्त गर्न सक्नु उनको लेखन शिल्प हो ।’
प्याउलीभित्र बान्तावाले भोगेका घटनामार्फत पात्रको चरित्रलाई स्थापित गरिदिन सफल भएको उनले बताइन् ।
डा. विष्टले आख्यान सरल रेखामा नबगेको टिप्पणी गर्दै प्रमुख पात्र लादिप्मामार्फत कथालाई बाँधेर पाठकको मन छुनेगरी उपन्यासलाई सलल बगाएको बताइन् ।
उनले भनिन्, ‘प्याउलीभित्र पस्दा सुरुमै अर्थात् उपन्यासको पहिलो च्याप्टरमै सम्बन्ध बिच्छेदको चर्चा आउँछ । त्यहाँ नायिकालाई हत्तपत्त भेटिन्न । तर पढ्दै जाँदा नायिकाको जन्म ८ औँ च्याप्टरमा मात्र भेटिन्छ त्यसपछि पाठकलाई झन् उत्सुकता बढेर डोर्याउछ अन्तसम्म ।’
उनले सम्बन्ध विच्छेदको सकसपूर्ण घट्नालाई हेर्दा उपन्यासलाई नारी मनोविज्ञानको दृष्टिकोणबाट पनि हेर्न जरुरी रहेको बताइन् ।
कृतिको विमर्श कार्यक्रममा बोल्दै लेखिका बान्तावाले भनिन्, ‘प्याउली’मा ८० प्रतिशत मेरो जीवनको वास्तविक भोगाइ छन् । बाँकी कल्पनाका कुरा छन् । पढेर कस्तो लाग्यो भन्ने फैसला गर्ने अधिकार आम पाठकको जिम्मामा छाडेको छु ।’
उनले आफ्नो जीवनमा आएको उतार चढाव, आशा निराशा, प्रेम र तिरस्कार, सफलता र असफलताका संगालोलाई आख्यानको रूप दिएर पाठकमाझ ल्याएको सुनाइन् ।
Discussion about this post