इटहरी : कवि कृष्ण उदासीको कविता सङ्ग्रह ‘पानीको पर्खाल’ प्रकाशनको तयारीमा छ । पेज टर्नर प्रकाशन प्रा.लि.ले बजारमा ल्याउन लागेको सङ्ग्रहभित्र ४० वटा कविता रहेका छन् ।
कवि उदासीकाअनुसार जेठ दोस्रो सातासम्ममा कृति बजारमा आउने छ । सङ्ग्रहमा जीवन, प्रकृति र मानवीय संवेदना, देशको राजनीति विचलन लगायत विविध आयाम समेटिएका कविता समावेश छन् ।
पाँचथरको साबिक फलैँचा–६ (हाल याङ्वरक–२, तिम्तिम्बू)मा जन्मिएका उदासी अहिले झापाको दमक–४, सम्बन्ध टोलमा बसोबास गर्दै आएका छन् ।
वि.सं. २०५५ सालदेखि साहित्यिक सिर्जनामा सक्रिय उनले पहिलो पटक २०५७ सालमा इन्द्रावती हवाइपत्रिका, सब्लाखु ताप्लेजुङमार्फत ‘सायरी’ प्रकाशन गरी आफ्नो औपचारिक साहित्यिक यात्रा आरम्भ गरेका थिए ।
उपन्यास, गजल, गीत, कथा र कविता विधामा समान दक्षता देखाएका उदासीका ‘दाइजो’ (उपन्यास, २०६४), ‘दोभानपारि बाबरी’ (गजल सङ्ग्रह, २०६७) र बबिता घिमिरेसँग संयुक्त कथासंग्रह ‘म हराएको साँझ’ (२०७०) प्रकाशित छन् ।
साहित्य सम्पादनमा पनि सक्रिय उदासीले ‘प्रारम्भ’ साहित्यिक भित्तेपत्रिका (२०६३–२०६५), ‘सिर्जनाको बगैँचा’ (२०६५) संयुक्त साहित्य संग्रह तथा ‘सम्बन्ध’ द्वैमासिक साहित्यिक पत्रिका (२०६६–२०६८) को सम्पादन गरिसकेका छन् । उनी २०६३ सालमा स्थापित उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापकसमेत हुन् ।
संस्थागत नेतृत्वमा उनले उर्लाबारी गजल मञ्चको सचिवदेखि अध्यक्षसम्म (२०६१–२०६९) तथा नेपाली साहित्य समाज, उर्लाबारीको सचिव (२०७३–२०७६) र महासचिव (२०७६–२०७९) को जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् ।
गीत, सङ्गीतको क्षेत्रमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ । उनका पाँच दर्जनभन्दा बढी गीतहरू रेकर्ड भइसकेका छन् ।
खासगरी उनले रचना गरेको गीत ‘म घुम्टो उघार्छु’ ले २०८० सालमा रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम पुरस्कार जितेर आफ्नो सिर्जनात्मक क्षमताको स्पष्ट परिचय दिएका छन् ।
Discussion about this post