विराटनगर : एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्दै नेपाल पुलिस क्लवले उपाधि जितेको छ ।
लगातार ३ पटक फाइनलमा पुगेको पुलिसको यो पहिलो उपाधि हो । दुईपटक एमएम कपको फाइनलमा आर्मीसँग पराजित पुलिसले उपाधि जित्दा आर्मीको ह्याट्रिक गर्ने सपना चक्नाचुर भएको छ ।
जितसँगै पुलिसले नगद ४ लाख र ट्रफि र उपविजेता आर्मीले नगद २ लाख र ट्रफि हात परेको छ ।
पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारि ५० ओभरमा सवै विकेट गुमाई २ सय ३९ योगफल खडा गरेको थियो ।
पुलिसका लागि अरुण ऐरी कप्तान शंकर रानाले अर्धसतक पारी खेले । ऐरीले ६४ रन र रानाले ५१ रन पारी खेले । श्रवण यादवले ३२ रन तथा दिपक डुम्रेले ३६ रनको पारी खेले । आर्मीका नरेन साउदले २ विकेट लिँदा दुर्गेश गुप्ता र तुलबहादुर थापाले पनि २–२ विकेट लिए ।
पुलिसले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सवै विकेट गुमाई २ सय १५ रन मात्र बनाउँन सक्यो । आर्मीका विकेट किपर हिमाञ्सु दत्तले अर्धसतकी पारी खेल्दा पनि आर्मीलाई जित दिलाउन सकेनन् ।
दत्तले ६३ रन बनाउँदा निश्चल क्षेत्रीले ३६ रन, इमरान शेखले २४ रन, नरेन राउदले २१ रन, जितेन्दू सिंह ठकुरीले २० रन र विशाल सुस्लिङले १८ रनको योदान दिए । पुलिसका प्लेयर अफ फाइनल श्रवण यादवले ४ विकेट लिँदा चित्र विष्टले २ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले नगद २५ हजार र ट्रफि हात पारे । त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए । उनीहरुले जनही नगद १५–१५ हजार र ट्रफि हात पारे ।
बैशाख १३ गतेदेखि भएको प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी रहेका थिए ।
Discussion about this post