विराटनगर : नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) को ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गर्ने मोरङ शाखाले जनाएको छ ।
एनसीडिए मोरङ शाखाले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरि असार ४ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर संघको स्थापना दिवस मनाउने जानकारी गराएको हो ।
२०३० सालमा स्थापित संघले औषधी व्यवसायको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै आएको संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले बताए ।
‘हरेक वर्ष असार १० गते मनाइने हाम्रो स्थापना दिवसलाई यस पटक विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छौं,’ उनले भने, ‘हामी केवल व्यापारिक गतिविधिमा मात्र सीमित नरहेर समुदायिक स्वास्थ्य सेवा र सामाजिक कल्याणमा योगदान पुर्याउनुपर्छ । यस वर्षको कार्यक्रमले हाम्रो त्यही प्रतिबद्धता अनुसार कार्यक्रम तय गरिएको छ ।’
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन असार ४ गते विराटनगरस्थित कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण कार्यक्रम हुनेछ । यसका संयोजक थोक उपाध्यक्ष जितु कुमार रजक र सह कोषाध्यक्ष राजकुमार यादव रहेका छन् ।
त्यसैगरी असार ५ गते विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागुऔषध र मनोदीपक औषधी सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना हुनेछ । यो कार्यक्रम संयोजक संघका महासचिव अरुण कुमार ठाकुर ब्राह्मण रहेका छन् ।
असार ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण गरिनेछ । वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी संयोजक रहेका छन् । असार ७ गते विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम हुनेछ ।
सो कार्यक्रमको संयोजक संघक सचिव सरिता श्रेष्ठ चौधरी रहेकी छन् । असार ८ गते संघको भवन विराटनगरमा वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान कार्यक्रम आयोजना हुनेछ ।
असार ९ गते हस्पिटल चोक विराटनगरमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । कोषाध्यक्ष मनोज कुमार मण्डल र थोक सदस्य राजेश मण्डल संयोजक रहेका छन् ।
असार १० गते मुख्य स्थापना दिवसका दिन बिहान ७ बजे हस्पिटल चोकदेखि संघको भवनसम्म प्रभातफेरी हुनेछ ।
त्यसपछि ९ बजे झण्डोत्तोलन र औपचारिक समापन समारोह आयोजना हुनेछ । साँझ दीप प्रज्वलन कार्यक्रमसहित समापन हुनेछ । खुद्रा उपाध्यक्ष मुकेश श्रीवास्तव संयोजक रहेका छन् ।













Discussion about this post