इटहरी : इटहरी उपमहानगरपालिका–२० स्थित तरहराको चारकोसे जंगलमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ।
मंगलबार अपराह्न करिब ३ः३५ बजेतिर धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाइकल सेउती पुल नजिक कोशी लोकमार्गमा आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका–१ की ४५ वर्षीया हिरा मेघाको मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ ।
घटनामा उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि विराटनगरस्थित आर्य न्यूरो अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव सोही अस्पतालमै रहेको छ ।
मोटरसाइकल चालक ५३ वर्षीय राजेन्द्र श्रेष्ठ घाइते भएका छन् । उनीहरू श्रीमान–श्रीमती रहेको प्रहरीले जनाएको छ ।
उनीहरू धनकुटाको पाख्रीबास नगरपालिका–४ का स्थायी बासिन्दा हुन् भने हाल इटहरी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका थिए ।
घटनामा संलग्न मोटरसाइकल तरहरा प्रहरीको नियन्त्रणमा रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post