विराटनगर : कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृति दिएको छ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार उक्त नियमावलीले सिटी रिक्साको दर्ता, इजाजतपत्र (लाइसेन्स) र सञ्चालन प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
“यो नियमावलीले यातायात क्षेत्रमा रहेको विकृति र विसंगति नियन्त्रणमा मद्दत पुर्याउनेछ,” मन्त्री भण्डारीले भने।
नयाँ नियमावली अनुसार अब सिटी रिक्सा चालकले लिखित परीक्षा दिनुपर्ने छैन ।
साथै, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण अनिवार्य गरिनेछ। यसैगरी, सार्वजनिक सवारी साधनहरूको लागि पञ्जीकरणको व्यवस्था नरहने प्रावधान पनि समावेश गरिएको छ।
त्यस्तै, बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्न बनेको अध्यादेश २०८२’ लाई प्रतिस्थापन गर्न ‘विधेयक २०८२’ प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ। साथै, सामाजिक संघ–संस्था ऐन २०७५ संशोधन गर्न बनेको विधेयकलाई पनि प्रदेश सभामा पेस गर्ने स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा कामकाजका लागि खटाउने निर्णय समेत गरेको छ।














Discussion about this post