इटहरी : सडक अनुशासन अभिवृद्धि र सवारी दुर्घटना न्यूनीकरणको लक्ष्यका साथ कोशी प्रदेशका १४ वटै जिल्लामा एकसाथ सुरु गरिएको “ट्राफिक सप्ताह २०८२” को समापन तथा अन्तरक्रिया कार्यक्रम बिहीबार इटहरीमा सम्पन्न भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रम गत असार ६ गतेबाट कोशी प्रदेशका १४ वटै जिल्लामा एकैसाथ प्रभातफेरी गरी प्रारम्भ गरिएको थियो।
एक सातासम्म सञ्चालन गरिएको ट्राफिक सप्ताहअन्तर्गत सार्वजनिक सवारीमा हुने दुर्व्यवहारविरुद्ध अभियान, यात्रु सवारी अनुगमन, मोबाइल फोन प्रयोग नगर्न सचेतना, इ-रिक्सा तथा अटोको मेकानिकल चेकजाँच र प्रशिक्षण, मोटरसाइकल र स्कुल बसको निरीक्षण तथा प्रशिक्षण, लेन अनुशासनसम्बन्धी सचेतना लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
ट्राफिक सप्ताहमार्फत प्रदेशभरका ४९ हजार ७ सय ४२ जना सवारी चालक र सडक प्रयोगकर्तालाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको ट्राफिक कार्यालयले जनाएको छ।
यसैबीच ट्राफिक कार्यालयमा प्राप्त उजुरी तथा निवेदनका आधारमा हराएका सवारी साधनको खोजी कार्यसमेत सप्ताह सन्दर्भमा तीव्र पारिएको थियो। खोजतलासका क्रममा सुनसरी, मोरङ, झापा लगायत विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल फेला पारिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
तीनमध्ये वास्तविक नम्बर प्लेटसहित हराएका तथा नक्कली नम्बर प्लेट राखी चलाइएको अवस्थामा फेला परेका सवारीहरूमध्ये ३ वटा मोटरसाइकल बिहीबार नै मन्त्री रेवतीरमण भण्डारीले सम्बन्धित सवारीधनीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरे । बाँकी ५ वटा सवारी आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको छ।
ट्राफिक नियम पालना, दुर्घटना न्यूनीकरण र हराएका सवारी फेला पार्ने प्रयासलाई सशक्त बनाउन प्रदेश सरकारले आगामी दिनहरूमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।














Discussion about this post