विराटनगर : प्रहरी दिवसको अवसरमा प्रदान गरिने “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” यस वर्ष प्रहरी निरीक्षक दिवश कुँवर र प्रहरी नायव निरीक्षक निर बहादुर खड्कालाई प्रदान गरिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर (चक्रघट्टी), सुनसरीमा कार्यरत निरीक्षक कुँवर र जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत नायव निरीक्षक खड्काले कोशी प्रदेशभित्र वर्षभर उत्कृष्ट कार्य प्रदर्शन गरेबापत उक्त पुरस्कार प्राप्त गरेका हुन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ७०औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा दुवै जनालाई पुरस्कृत गरेको हो। इमानदारी, अनुशासन, शान्ति–सुरक्षामा योगदान तथा प्रहरीको छवि उच्च बनाउने कार्यमा उल्लेखनीय योगदानका लागि उनीहरूलाई सम्मान गरिएको बताइएको छ।
पुरस्कार वितरण कार्यक्रममा अक्षयकोषका संस्थापक तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले दुवै जनालाई ५०–५० हजार रुपैयाँ राशिको चेक हस्तान्तरण गरेका थिए।
सो अवसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरर कार्कीले प्रा. डा. श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
पुरस्कार प्राप्त गरेपछि निरीक्षक कुँवर र नायव निरीक्षक खड्काले आफूहरूका कार्यको उच्च मूल्याङ्कन भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार र निष्ठापूर्वक पदीय दायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाए।














Discussion about this post