इटहरी : आख्यानकार सीमा आभासको उपन्यास महायुगमाथि इटहरीमा विमर्श कार्यक्रम आयोजना गरिएको छ ।
सञ्चारिका समूह सुनसरीद्धारा शनिवार आयोजित कार्यक्रममा मनु मञ्जिल, टीका आत्रेय र डा. अस्मिता विष्टले पुस्तकमाथि धारणा राखे ।
कवि मञ्जिलले महायुगमा कल्पनाको उडान रहेको र शक्ति सञ्चय गरेको बताए । उनले भने, ‘नारी भाषालाई जगाउनका लागि शक्ति आर्जन गनुपर्नेरहेछ । आख्यानकार आभासले महायुगमा त्यो शक्ति सञ्चय गर्नुभएको छ ।’
यसैगरी आत्रेयले महायुगभित्रका हरेकजसो पात्रहरू विश्वविद्यालय रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘महायुगभित्रका हरेकजसो पात्रहरू विश्वविद्यालय हुन् । यहाँ उदृत गरिएका पात्रहरूको भूमिकाले उपन्यास सशक्त बनेको छ ।’
डा. विष्टले महिलामा विशेष शक्ति हुने भएपनि पुरुषले स्थान नदिएको कुरालाई नै उपन्यासमा उल्लेख गरिएको बताइन् ।
उनले भनिन्, ‘यो उपन्यास नारीवादी उपन्यास हो । महिलामा विशेष शक्ति हुने भएपनि पुरुषले सिर्जना गरेको पृथ्वीमा महिलालाई कत्ति पनि स्थान दिइएको छैन । यही कुरालाई उपन्यासमा उठान गरिएको छ ।’
कार्यक्रममा आख्यानकार आभाससँग नाट्यकर्मी प्रज्वल पराजुलीले बहस गरे । यसैगरी सहभागीहरूबाट पनि प्रश्नहरू लिइएको थियो भने आभासले जिज्ञासाको सम्बोधन गरिन् ।
सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव सविता पोखरेल (ज्योती)ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।














Discussion about this post