इटहरी : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसरमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न सुनसरी प्रशासनले अनुरोध गरेको छ ।
दीपावली, छठ र नेपाल संवतका अवसरमा जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गर्दै भयरहित वातावरणमा पर्व मनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘कसैको इच्छा र चाहना विपरीतका क्रियाकलापहरू गर्ने र समाजमा अशोभनीय कार्य गर्ने परिपाटीलाई नियन्त्रण गरी स्वतन्त्र र खुशीयालीपूर्वक मनाउन साथै शान्ति, सुरक्षा र अमनचैनलाई सामान्य तूल्याई राख्नु सबैको कर्तव्य हो । पर्वहरूमा अवाञ्छित एवं गैरकानूनी क्रियाकलापहरू गर्न नहुने, त्यस्ता कार्यहरू भए, गरिएमा संलग्नलाई प्रचलित कानून बमोजिम कारवाही हुने समेत सबैमा जानकारी गराइन्छ ।’
खासगरी कानूनको पूर्ण पालना गर्दै देउसी, भैलो, नाचगान जस्ता क्रियाकलापहरू राति १० बजेसम्म मात्र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ ।
यसैगरी पटका, आतिसवाजी, जस्ता विष्फोटकजन्य पदार्थ नपड्काउने साथै त्यस्ता पदार्थहरूको निकासी, ओसारपसार एवं विक्री वितरण नगर्न आग्रह गरिएको छ ।
‘मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति, सुरक्षालाई असर पर्नेगरी सार्वजनिक स्थानमा हो–हल्ला एवं झै–झगडा जस्ता कार्य नगर्ने, भीडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलापहरू नगर्ने, देउसीभैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा सञ्चालन गर्ने,गराउने,’ सूचनामा भनिएको छ, ‘एकले अर्काको धर्म संस्कृतिलाई सम्मान गरौं । धार्मिक सद्भाव कायम गर्न सम्पूर्णमा हार्दिक अपिल गर्दछौँ ।’















Discussion about this post