इटहरी : करुणा फाउण्डेसन नेपाल र जर्मनीस्थित द ह्यान्ड प्रोजेक्टको सहकार्यमा इटहरीमा आयोजना गरिएको निःशुल्क कृत्रिम हात नापजाँच, जडान तथा वितरण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
कात्तिक १७ देखि २६ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरमा कोशी प्रदेशका १४ जिल्लाका १९९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई २०४ वटा हलुका र सहजै प्रयोग गर्न सकिने कृत्रिम हात वितरण गरिएको हो। तीमध्ये पाँच जनाले दुवै हात प्राप्त गरेका छन्।
शिविरका लाभग्राहीहरूमा झापाबाट ४७, उदयपुरबाट २३, सुनसरीबाट २०, खोटाङबाट २०, ओखलढुङ्गाबाट १४, पाँचथरबाट १२, मोरङबाट १९, भोजपुरबाट १०, सोलुखुम्बुबाट ९, तेह्रथुमबाट ९, ताप्लेजुङबाट ६, धनकुटाबाट ५, इलामबाट २, संखुवासभाबाट २ र काठमाडौंबाट १ जना नागरिक रहेका थिए। सहभागीमध्ये महिला ५७ र पुरुष ४७ (बालबालिका १७ र वयस्क १८२) रहेका छन्।
शिविरमा न्यूजिल्याण्ड र युगान्डाबाट आएका प्राविधिक टोलीहरूले सेवाग्राहीहरूको हातको नापजाँच, जडान र प्रयोगसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरेका थिए।
कृत्रिम हात प्राप्त गरेका लाभग्राहीहरूले आफूहरूमा आत्मविश्वास, स्वावलम्बन र सक्षम जीवनप्रति नयाँ ऊर्जा जागेको अनुभव व्यक्त गरेका छन्।
करुणा फाउण्डेसनका अनुसार यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई पुनः आत्मनिर्भर र सम्मानजनक जीवनतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।














Discussion about this post