किपा शेर्पा, फुर्दिकी शेर्पा लगायत १८ जना नेपाली महिला पर्वतारोहीहरूले २२ डिसेम्बर २०२५ को दिउँसो १ः०५ बजे पाल्दोर हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।
काठमाण्डौंबाट पाल्दोर हिमालको यात्रा सुरु गरेको ५ दिनमा नै उनीहरूले उक्त हिमालको सफल आरोहण गरेका हुन् ।
विगत देखि नै हिमाल आरोही तथा ट्रेकिङ गाइड काम गरिरहेका महिलाहरूको समूहले पाल्दोर हिमालको आरोहणमा माउन्टेन लिडरसीप र आरोहणका कला र सीप सिक्दै हिमाल आरोहण गरेका हुन् ।
आरोहणमा संलग्न किपा शेर्पाका अनुसार आफूहरूको हिमाल आरोहण गर्ने उत्साह, जोश, सामुहिक भावना, दृढता र एकताबद्ध प्रयासले ५,८९६ मिटर उचाइको पाल्दोर हिमालको शिखर चुम्न सफलता मिलेको हो ।
पर्वतारोहण क्षेत्रमा नेपाली महिलाहरूको सामूहिक आरोहणको यो पहिलो प्रयास पनि हो । आत्मविश्वास र दृढ संकल्पले गर्दा नै निर्धारित समय अगावै मिसन सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको सफल आरोही शेर्पाले जानकारी दिइन् ।
उनले हिमाल आरोहण गरेर फकिने क्रममा आधार शिविरबाट फोन सम्पर्क गर्दै महिलाहरूले पनि हिमाल आरोहणका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने आत्मविश्वास विकास गराएको बताइन् ।
खासगरी आरोहण तथा गाइड गर्ने सीप र क्षमता विकास गराउनका लागि उनीहरूलाई यो तालिमको आयोजना गरिएको आयोजक संस्थाले बताएका छन् ।
लिरुङहिम श्रृङ्खलामा पर्ने गोरखा जिल्लामा अवस्थित पाल्दोर हिमाल मनास्लु, लाङटाङ हिमालुसँगैको क्षेत्रमा पर्दछ ।
पाल्दोर हिमालको आरोहणमा आफूहरूले ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने सीप क्षमता विकाससँगै त्यस्ता आरोहणमा कसरी नयाँ आरोहीहरूलाई गाइड गर्न सकिन्छ भन्न ज्ञान समेत हासिल गरेको बताइको छ ।
फुरा दिकी शेर्पाको नेतृत्वमा आरोहणमा गएको टोलीका सदस्यहरू सगरमाथा आरोही, ट्रेकिङ गाइड, मनास्लु, मकालुजस्ता हिमाल आरोहण गरिसकेका व्यावसायिक महिलाहरूको समूह हो ।
आउने सिजनमा उनीहरूमध्ये केहीले सगरमाथा, केहीले मनास्लु, केहीले मकालु र केहीले चोयाु, लोत्से र अन्नपूर्ण हिमाल आरोहण गर्ने योजनासमेत बनाएको बताएका छन् ।














Discussion about this post