मोरङ : मोरङको जहदा गाउँपालिका–१ मा खाल्डो खनेर परालले छोपेर लुकाइराखिएको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद भएको छ ।
शनिबार बिहान प्रहरीले २७५ किलो ८ सय ग्राम गाँजा फेला पारेको हो ।
मोरङ जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।
खानतलासीका क्रममा कालो प्लाष्टिकमा पोका बनाएर जमिनमुनि लुकाइछिपाइ राखिएको ९ पोका गाँजा बरामद गरिएको हो ।
प्रहरीले जहदा–१ का अन्दाजी २८ वर्षीय चन्दनकुमार साहलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा साह गाँजा भण्डारण कार्यमा संलग्न देखिएपछि उनलाई आफ्नै घरको कोठामा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरामद गाँजा र पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । साहविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।
गाँजा कहाँबाट ल्याइएको र कता लैजान खोजिएको हो भन्नेबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post