ताप्लेजुङ : ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनका लागि गएका झापाको कमल गाउँपालिका-५ का ६५ वर्षीय टङ्कबहादुर खड्का आठ दिनदेखि बेपत्ता भएका छन्।
परिवारका अनुसार खड्का फागुन ८ गते मन्दिर पुगेका थिए तर त्यसपछि सम्पर्कविहीन भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवले उनको खोजी कार्य तीव्र बनाइएको जानकारी दिएका छन्।
खड्का दौरा–सुरुवाल र कोट लगाएका थिए र अन्दाजी पाँच फिट उचाइका छन्। उनी कान कम सुन्ने व्यक्ति रहेको परिवारले जनाएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिनसम्म खोजी गरे पनि हालसम्म कुनै सुराक फेला नपरेको कर्मचारी राजेन्द्र महतले बताए।
पाथीभरा क्षेत्रमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ। चिसो मौसम र दुर्गम भू–भागका कारण सुरक्षा चुनौती बढेकाले खोजी कार्य थप सुदृढ बनाइएको प्रहरीले जनाएको छ।














Discussion about this post