इटहरी : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका कोशी प्रदेशका मुख्य सीमा नाका सोमबार मध्यरातिदेखि ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
प्रशासनले मौन अवधि सुरु भएसँगै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै कडाइ गर्ने निर्णय गरेको हो।
फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा पार आवागमन पूर्ण रूपमा रोकिनेछ। सुरक्षा निकायका अनुसार निर्वाचनलाई प्रभावित पार्न सक्ने अवाञ्छित गतिविधि रोक्न ‘क्लोज्ड बोर्डर प्रोटोकल’ लागू गरिएको हो।
प्रशासनका अनुसार काँकडभिट्टा, भद्रपुर, पशुपतिनगर, जोगवनी र भन्टावारी नाका पूर्ण रूपमा ‘सिल’ गरिएको छ।
यी नाकाबाट हुने यात्रु आवागमन, साना–ठूला ढुवानी तथा व्यापारिक गतिविधि पूर्ण रूपमा स्थगित हुनेछन्।
सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको संयुक्त गस्ती बढाइएको छ। अनधिकृत आवागमन, अवैध सामग्री ओसारपसार वा निर्वाचन आचारसंहिता उल्लंघन गर्न खोजे तत्काल नियन्त्रणमा लिइने प्रशासनले चेतावनी दिएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार सीमावर्ती क्षेत्रमा ‘मोबाइल पेट्रोलिङ’, निगरानी टोली र रिजर्भ फोर्स तयारी अवस्थामा राखिएको छ। आवश्यक परे थप जनशक्ति परिचालन गरिनेछ।
प्रशासनले सर्वसाधारणलाई सीमा बन्द अवधिमा अनावश्यक आवागमन नगर्न, अफवाहमा विश्वास नगर्न र कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।














Discussion about this post