इटहरी : धरान उपमहानगरपालिका–५ खैरेनीस्थित त्रिवेणी चोक नजिक शेरा खोलाबाट ढुंगा लोड गरी खैरेनीतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
प्रहरीका अनुसार प्र–१–०४–००१त ५७२ नम्बरको ट्याक्टरको केरियरमा सवार सोही ट्याक्टरका लेबर, धरान–५ बस्ने ५६ वर्षीय रतन मगर अचानक लडेर गम्भीर घाइते भएका थिए। लड्दा उनको चिउँडो, दायाँ पाखुरा र दायाँ तिघ्रामा चोट लागेको थियो।
घाइते मगरलाई ट्याक्टर चालक ४१ वर्षीय दलबहादुर सार्कीले तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरानमा पुर्याएका थिए। उपचारकै क्रममा आज (मंगलवार) बिहान ३ः३० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक हरी नारायण राजवंशीको कमाण्डमा प्रहरी टोली खटिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय धरानबाट करिब ५ किलोमिटर पूर्वमा पर्छ।
















Discussion about this post