इटहरी : नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला सर्वसम्मत रूपमा चयन भएका छन्।
कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्तौलालाई अध्यक्षमा चयन गरिएको हो।
अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ सचिवमा नसीम अन्सारी, सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन भएका छन्।
त्यस्तै, कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएका छन्।
यसैगरी सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण्य कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष गड्तौलाले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रविधिमैत्री पत्रकारिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले फोटो पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने बताए ।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।













Discussion about this post