इटहरी : सिक्किमका कवि सोनाम पाल्जोर तामाङले ‘मेरो कविता : द रिदम अफ पोएट्री’ सिजन– १, को ट्रफी हात पार्न सफल भएका छन् ।
२५० भन्दा बेसी कविहरूलाई पछि पार्दै सोनामले उक्त ट्रफी आफ्नो बनाएको हो । उनले ट्रफी सँगै तीन लाख रुपैँया नगद र प्रमाणपत्र समेत हात पारे । त्यस्तै तेह्रथुमका कवि प्रवेग हाङ्स्रोङ प्रतियोगितामा फस्ट रनरअप हुँदै नगद एकलाख हात पारे ।
झापा कचनकवलका कवि टोलीप्रसाद राजवंशी सेकेन्ड रनरअप र पाँचथर फिदिमका कवि सेसे थाम्सुहाङ थर्ड रनरअप भए । उनीहरूले क्रमश पचहत्तर हजार, पचास हजारसहित ट्रफी, प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा ‘जजेज् चोइस अवार्ड’ धरान सुनसरीका कवि विनेश राई मिन्जाईले प्रप्त गर्न सफल भए । दमक बेलडाँगीका अविलाल राईले ‘बेस्ट पर्फमर अवार्ड’ जित्न सफल भए भने रोङ इलामका कवि अनिश राईले ‘राइजिङ पोएट’ अवार्ड हात पारे ।
विगत तीन महिनादेखि ‘माई प्लेटफम, रिदम एन्ड रियालीटी’ र ‘बेलडाँगी नाट्य परिवार’को संयुक्त आयोजनामा सञ्चालनमा भइरहेको ‘मेरो कविता : द रिदम अफ पोएट्री’को ग्रान्ड फिनाले गएको सोमबार सम्पन्न भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न मेरो कविताको फिनालेमा प्रतियोगिताका उत्कृष्ट दश प्रतियोगी कविहरूले प्रस्तुति दिए ।
दमकको बेलडाँगीमा सम्पन्न कार्यक्रममा सर्वोत्कृष्ट कविहरुलाई पुरस्कार प्रदान गर्दै कुलपति राईले भने, ‘कविता प्राचिन विधा भएर पनि सधै नवीन रहन्छ । मुस्किलले टेक्समा पढ्न सकिने कवितालाई विस्तारै सुन्न थालियो ।
अहिले कविता हेर्ने विधाको रूपमा अघि बढिरहेको छ । प्रविधिसँग जोडेर कवितालाई प्रस्तुत गर्नु आफैँमा सुन्दर कुरा हो । तर कविताको पहिलो सर्त टेक्स हो ।’
सुन्दर कविता नबनेसम्म जतिसुकै डिजिटलाइज गरेपनि त्यसको अर्थ नहुने कुलपति राईले बताए ।
केवल क्षेत्रीको निर्देशन, पवित्र राईको सहनिर्देशनमा सम्पन्न कविताको रियालीटी सो ‘मेरो कविता : द रिदम अफ पोएट्री’ का निर्णायकको भूमिकामा कवि हेमन यात्री, सुमन स्मारिका, उत्तम तुम्सा लिम्बु र अज्ञात दधीले गरेका हुन् ।















Discussion about this post