विराटनगर : पत्रकारको परिचयपत्र देखाएर प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो विराटनगर–१६ दरैया चोकबाट विराटनगर–१ का ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ का राहुल सरदारलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका अनुसार भारतको जोगबनीबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई नियमित चेकजाँचका क्रममा रोकिएको थियो। सोही क्रममा उनीहरूले आफू पत्रकार भएको दाबी गर्दै प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए। प्रहरीले दुवैले लागूऔषध सेवन गरेको आशंकासमेत जनाएको छ।
प्रहरीले पक्राउ परेका घिमिरेको साथबाट शब्द एक्सप्रेस अनलाइनको रिपोर्टर उल्लेख गरिएको प्रेस परिचयपत्र बरामद गरेको जनाएको छ। उक्त परिचयपत्रमा जारी मिति र म्याद उल्लेख नभएकाले त्यसको वैधतामाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीहरू सवार प्रदेश १–०२–०४१ प २०९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ प्रहरीले दुवै जनाविरुद्ध लागूऔषध सेवन तथा अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले बरामद गरिएको प्रेस परिचयपत्रको आधिकारिकता तथा त्यसको प्रयोगबारे पनि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।




















Discussion about this post