विराटनगर : विराटनगर महानगरपालिकाले राजस्व शाखाका कर्मचारीलाई गोलाप्रथामार्फत विभिन्न वडामा सरुवा गरेपछि चार वटा वडाले कर्मचारी हाजिर गराउन अस्वीकार गरेका छन्।
कर्मचारी व्यवस्थापनमा वडासँग कुनै समन्वय नगरी निर्णय गरिएको भन्दै वडा नम्बर ४, ६, १७ र १८ ले महानगरको निर्णयको विरोध गरेका हुन्।
साउन १ गते महानगरले राजस्व शाखाका कर्मचारीलाई छलफलका लागि बोलाएर गोला तानेर नयाँ कार्यस्थल तोकेको थियो। तर उक्त निर्णयप्रति कर्मचारीसँगै वडाध्यक्षहरूले पनि असन्तुष्टि जनाएका छन्।
विराटनगर–४ का वडाध्यक्ष जितन थापाले वार्षिक करिब सात करोड रुपैयाँ राजस्व संकलन हुने वडामा अनुभवी निजामती कर्मचारी आवश्यक पर्ने भन्दै सामाजिक परिचालकलाई खटाउँदा राजस्व संकलन प्रभावित हुने बताए।
वडा नम्बर १७ का वडाध्यक्ष समीम कमरले स्थानीय अवस्था र भाषाको ज्ञान भएका कर्मचारीको आवश्यकता हुँदाहुँदै हचुवाका भरमा सरुवा गरिएको आरोप लगाए।
वडाध्यक्षहरूले यसअघि वडा नम्बर ७ र ९ मा देखिएको कर्मचारी विवाद समाधान गर्न नसकेपछि महानगरले सबै वडामा गोलाप्रथाबाट सरुवा गरेर समस्या झन् जटिल बनाएको बताएका छन्।
महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले भने नियमअनुसार कर्मचारीको कार्यस्थल परिवर्तन गरिएको दाबी गर्दै केही वडाले कर्मचारीलाई हाजिर हुन नदिएको स्वीकार गरे।
विवाद समाधानका लागि आवश्यक छलफल अघि बढाइने महानगरले जनाएको छ।
















Discussion about this post