आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ।
आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज गुरु पूर्णिमाका दिन शिक्षा, दीक्षा, वेदमन्त्र र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ। धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो।
अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु मानिन्छ।
हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा सम्मान गरिन्छ। यही मान्यताअनुसार गुरुको महिमा वर्णन गर्दै ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः, गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः’ भन्ने श्लोक प्रचलित छ।
माता–पितासरह गुरुलाई पनि देवतासमान मानी ‘आचार्यदेवो भव’ भन्ने संस्कार समाजमा स्थापित छ।
यस अवसरमा देशभरका विद्यालय, गुरुकुल, शैक्षिक संस्था तथा विभिन्न सङ्घसंस्थाले गुरुको सम्मानमा विशेष कार्यक्रम आयोजना गरी शिक्षक तथा गुरुजनप्रति श्रद्धाभाव व्यक्त गरिरहेका छन्।
















Discussion about this post