इटहरी : नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच कोशी प्रदेश सरकारमा सत्ता सहकार्यका विषयमा औपचारिक छलफल सुरु भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारी निवासमा भएको छलफलमा दुवै दलका शीर्ष प्रदेश नेताहरू सहभागी भएका छन्। केन्द्रमा बनेको समझदारीअनुसार प्रदेश सरकारको स्वरूप परिवर्तन गर्ने तयारीस्वरूप यो पहिलो औपचारिक बैठक मानिएको छ।
एमालेले तत्कालका लागि कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय गरेपछि सरकारमा नेकपाको सहभागिता, मन्त्रालय बाँडफाँट, साझा कार्यक्रम तथा सत्ता साझेदारीको मोडालिटीबारे वार्ता अघि बढाइएको स्रोतले जनाएको छ।
छलफलमा नेकपाका प्रदेश इञ्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, दलका उपनेता बाबुराम गौतम र प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ सहभागी थिए।
एमालेका तर्फबाट केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरू उपस्थित थिए।
बैठकमा सरकारमा नेकपाको सहभागिता, मन्त्रालयको जिम्मेवारी, साझा न्यूनतम कार्यक्रम तथा आगामी राजनीतिक सहकार्यका विषयमा छलफल भइरहेको बताइएको छ।
यद्यपि, आजकै बैठकबाट सबै विषयमा अन्तिम निष्कर्ष ननिस्कने सम्भावना रहेको सहभागी नेताहरूले बताएका छन्।
छलफलले नयाँ सरकार निर्माणसँगै प्रदेश सरकारको नीति, बजेट र विकास प्राथमिकतासमेत पुनः परिभाषित हुने संकेत दिएको छ।
बैठकमा मन्त्रालय बाँडफाँट, सरकारको साझा न्यूनतम कार्यक्रम, हालै पारित प्रदेश बजेटको पुनरावलोकन तथा सरकारको कार्यदिशाबारे प्रारम्भिक छलफल भएको हो। दुवै दलले आगामी सोमबारसम्ममा सबै विषयलाई ‘प्याकेज’मै टुंगो लगाउने तयारी गरेका छन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको नयाँ राजनीतिक समझदारीअनुसार प्रदेशमा पनि नयाँ ढङ्गले सरकार सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको बताए।
‘हामीले सरकारमा कसरी सहकार्य गर्ने, मन्त्रालय कसरी व्यवस्थापन गर्ने र साझा कार्यक्रमका आधारमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रारम्भिक समझदारी बनाएका छौँ,’ उनले भने, ‘सोमबारसम्म सबै विषयलाई प्याकेजमै टुंग्याउने गरी गृहकार्य भइरहेको छ। अब सरकार पुरानै ढर्रामा चल्दैन, साझा न्यूनतम कार्यक्रम बनाएर परिणाममुखी ढङ्गले अघि बढ्छ।’












Discussion about this post