ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ।
फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना मादेन लिम्बूको सर्पदंशबाट मृत्यु भएको हो।
सोमबार राति करिब ९ बजेतिर बिरालोले सर्प घरभित्र ल्याएपछि युना त्यसलाई बाहिर निकाल्न खोजेकी थिइन्। सोही क्रममा सर्पले उनलाई टोकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार सर्पले टोकेपछि युनाले घरमै घरेलु उपचार गरेकी थिइन्।
सर्पदंशपछि मंगलबार बिहान करिब ८ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सर्पले टोकेपछि समयमै उपचारका लागि स्वास्थ्य संस्था पुर्याउन नसक्दा अवस्था गम्भीर बनेको हो। सर्पको विषको प्रभाव बढ्दै गएपछि उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रहरीले सर्पदंशको घटना भए तत्काल स्वास्थ्य संस्थामा पुर्याउन आग्रह गरेको छ।












Discussion about this post