इटहरी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले कोशी प्रदेशका जिल्लाबाट रोजगारी, पर्यटन र जलविद्युत्का लागि रसुवा पुगेका नागरिकलाई ठूलो क्षति पुर्याएको छ ।
बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १ सय ५९ जना अझै सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सोलुखुम्बुका ४२ जना छन् । ओखलढुंगाका २५, मोरङका १७, सुनसरी र उदयपुरका १६–१६ तथा झापाका १३ जना सम्पर्कविहीन छन् ।
त्यस्तै खोटाङका १०, इलामका ९, संखुवासभा र भोजपुरका ३–३, ताप्लेजुङ र धनकुटाका २–२ तथा पाँचथरका एक जना सम्पर्कविहीन छन् । तेह्रथुमबाट भने कोही पनि सम्पर्कविहीन नरहेको प्रहरीले जनाएको छ ।
तिब्बतबाट फर्किंदै गरेका पनि सम्पर्कविहीन
बाढीमा सम्पर्कविहीन हुनेहरू स्थानीय बासिन्दा मात्र नभई रसुवामा रोजगारी, ट्रेकिङ, पर्यटन तथा जलविद्युत् आयोजनामा कार्यरत कोशीका नागरिक रहेको विवरणले देखाएको छ ।
कतिपय नागरिक तिब्बतबाट नेपाल फर्कने क्रममा टिम्बुरे, मैलुङलगायत क्षेत्रमा बाढीको चपेटामा परेका छन्। केही भने ट्रेकिङका लागि तिब्बततर्फ जाने क्रममा सम्पर्कविहीन भएका हुन् ।
सोलुखुम्बुका मात्रै दर्जनौं नागरिक विभिन्न ट्रेकिङ कम्पनीमार्फत काठमाडौं हुँदै तिब्बत पुगेको र नेपाल फर्कने क्रममा रसुवामा सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार गरिएका कोशी प्रदेशका ५ जना परिवारको सम्पर्कमा आएका छन् भने २७ जनाको उपचार भइरहेको छ । इलामका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।












Discussion about this post