इटहरी : सुनसरीको दुहबी नगरपालिका–८ स्थित अरिहन्त एग्रो इन्डस्ट्रिज प्रालि परिसरमा क्रेनले किच्दा एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही उद्योगमा कार्यरत दुहबी–८ का ३६ वर्षीय महेश्वर मण्डल रहेका छन् ।
प्रहरीका अनुसार उद्योग परिसरमा बाँस बोकेर जाने क्रममा मण्डल अचानक चिप्लिएर भुइँमा लडेका थिए । सोही क्रममा पछाडि ब्याक भइरहेको को १ क ३०३४ नम्बरको क्रेनको चक्काले उनको टाउकोमा किचेको थियो ।
गम्भीर घाइते मण्डललाई तत्काल विराट मेडिकल कलेज, गंगाचोक मोरङ लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक शिवराम थापाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । यस्तै, सीआरभी सोनापुरबाट प्रहरी नायब निरीक्षक महेन्द्र दाहालको कमाण्डमा समेत टोली खटिएको थियो ।
प्रहरीले घटनामा संलग्न क्रेन र चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का २७ वर्षीय छत्रबहादुर शेर्पालाई नियन्त्रणमा लिएको छ ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल ट्राफिक प्रहरी पोस्ट दुहबीबाट करिब ४ किलोमिटर उत्तरमा पर्छ ।












Discussion about this post