इटहरी : सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ४५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
दुहबी नगरपालिका–११ नहरचोकस्थित भित्री सडकखण्डबाट प्रहरीले २८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी तनमुनबाट खटिएको टोलीले नहरचोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को २१ प ७९८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा बरामद गरेको थियो ।
गाँजासहित मोटरसाइकल चालक देवानगञ्ज गाउँपालिका–३ का २३ वर्षीय एमडी जावेद मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, कोशी गाउँपालिका–१ लौकहीबाट प्रहरीले १७ किलो १४० ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले मधुवनबाट लौकहीतर्फ आउँदै गरेको ना ६० प ५३९१ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
गाँजासहित मोटरसाइकल चालक भारत सुपौल, पञ्चायत फत्तेपुर वडा नं. १ का २१ वर्षीय दिपक कुमार पोदार पक्राउ परेका छन् ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post