इटहरी : सुनसरी बराहक्षेत्र वडा नं. ६ का अर्जुन चन्द्रवंशी ६२ वर्ष पुगे । उनी जन्मेदेखि नै त्यही ठाउँमा बस्दै आए ।
यस वर्ष भने सप्तकोशी नदीले कटान गरेर घर भएको नजिकै पुगेको छ । जसले गर्दा उनलाई कोशीले बगाउँला कि भन्ने चिन्ताले सताएको छ ।
अर्कातिर उब्जनी हुने उर्वर भूमि छाडेर अन्यत्र कहाँ जाने ? उनको प्रश्न छ । ‘यस वर्ष कोशीको कटान हेर्दै बस्यौ,’ चन्द्रवंशीले भने, ‘सधैंभर यसरी वस्न सकिन्छ जस्तो लाग्न छाडि सक्यो ।’ बराहक्षेत्र वडा नं. ६ र ९ मा पर्ने श्रीलंका टापुतर्फ यस वर्ष असारदेखि कटान गरेको अहिलेसम्म पनि रोकिएको छैन् ।
‘आँखाले हेर्दा निकै पर बग्ने खोला अब त आँगन छेउछाउ आइ पुगेको छ,’ उनले भने, ‘अब आउँने वर्षदेखि नै जसरी पनि श्रीलंका टापुबाहेक अन्यत्रै बसोबासको व्यवस्था मिलाउने योजना बनाएको छु ।’
सप्तकोशीले कटान गरेपछि जीवछीकुमारी महत्तोको परिवार विस्थापित भएको छ । कोशीले गर्दा उनको खेती सक्यो ।
‘अहिले अर्काको जग्गामा सामान्य बेराबारा गरेर बसेका छौं, अब भने यस ठाउँमा बस्न नसक्ने भएकाले गर्दा सर्लाही जाने तयारीमा छौं,’ उनले भनिन् ।
उनका श्रीमान् सिर्लाहीको वरहतुवा वडा नं. ८ अढाई कट्ठा जग्गा रहेकाले त्यही घर बनाउन गएका छन् । उनकी जेठी छोरी जानकी कक्षा १० मा पढिरहेकाले गर्दा एसइइ सक्नासाथ सर्ने जीवछीले बताइन् ।
‘पाँच वर्षदेखि निरन्तर कोशीले कटान गर्दा यस वर्षदेखि त सवै जग्गा सक्यो,’ उनले भनिन्, ‘भदौ १० गते रसुवामा आएको बाढीले गर्दा अब खोला छेउछाउँ बस्न हुदो रहेन्छ, जति बेला पनि ज्यान खतरामा रहेछ भन्ने ज्ञान भएपछि सर्लाहीमा घर बनाउन थालिएको हो ।’
उनीमात्र होइन्, यस वर्ष कोशीले निरन्तर कटान गरेपछि वडा नं. ६ मा पर्ने श्रीलंका टापुका सुकदेव कविरथ, राधे कविरथ, सनिचरण कविरथ, बालीचरण र मनोज कविरथको परिवार पनि सप्तकोशी पूर्व प्रकाशपुर बसाई सरे । उनीहरु बसाई सरेको एक साता बित्यो ।
सप्तकोशीले निरन्तर वस्तीतर्फ धार परिवर्तन गर्दा दुखु कविरथ र अर्को एक परिवार पनि अघिल्लो साता झापा बसाई सरे । भदौ १० गते रसुवामा बाढीको वितण्डाले अकल्पनीय धनजनको क्षती गरेसँगै तटीय क्षेत्रमा बसोबास गर्नेको मनस्थितीमा परिवर्तन हुन थालेको छ।
‘धन्न जसोतसो गरेर प्रकाशपुरमा एक कट्ठा जग्गा छ, त्यही भएर अब त्यही सर्ने,’ वालीचरण कविरथले भने, ‘ज्यान जोखिममा राखेर बस्नु हुँदैन ।’
दुई साताअघि सप्तकोशीको पश्चिम भङ्गालोले धार परिवर्तन गर्दै निरन्तर कटान गरेपछि २२ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । वडा नं. ६ श्रीलंका टापुका बद्रीकुमार राईका अनुसार सप्तकोशी नदीले अघिल्लो वर्ष भारतीय सरकारले लगाएको ढुंगाको जालीको स्पर हुँदाहुँदै कटान गरियो । वडा नं. ९ मा त झन ढुंगाका जालीको स्पर समेत नभएकाले गर्दा पनि पुरै पश्चिमतर्फ कटान गरेको छ ।
पुराना जानकारहरुका अनुसार २०४५ सालको भूकम्पपछि कोशीले धार परिवर्तन गरेर पूर्वतर्फ बग्न थाल्यो । पछिल्लो वर्षमा सवैभन्दा बढी खतरा कोशीको पूर्वी तटबन्ध क्षेत्रमै हुँदै आएको थियो ।
जसले गर्दा २०६५ भदौ २ गते अहिलेको कोशी गाउँपालिका वडा नं. ३ पश्चिम कुसाहाबाट पूर्वी तटबन्ध भत्काएर कोशीले मानव वस्तीमा प्रवेश गरि तहसनहस पारेको थियो । तर, पछिल्ला वर्षमा कोशीले निरन्तर पश्चिम धार परिवर्तन गरिरहँदा फेरि पुरानै बाटो पक्रिन खोजेको स्थानीयले अनुमान गर्न थालेका छन् ।
‘खोलाको कुनै विश्वास हुँदो रहेनछ, रसुवाको घटना पनि देखियो, यहाँ कोशी पनि हाम्रो आँखै अगाडि छ,’ वडा नं. ६ का बुद्धिमान माझीले भने, ‘श्रीलंका टापुका बासिन्दालाई सरकारले अन्यत्र सार्न पहल गर्नुपर्छ । यदि रसुवा घटनाजस्तो सप्तकोशी आएमा वस्तीका बासिन्दा सबै जोखिममा छन् ।’
२०४५ सालको भूकम्पपछि स्थानीय बासीन्दाको नम्बरी जग्गाबाट कोशी नदीले धार परिवर्तन गरि बग्न थालेपछि अधिकतर परिवारलाई सरकारले कोशी पूर्व डेढ कट्ठाका दरले जग्गा उपलब्ध गराएको थियो ।
तर, धेरै जग्गाजमीन भएकाहरू सप्तकोशी पूर्व नगईकन ऐलानी जग्गा भएपनि ओगटेर बस्दै आएका थिए । ‘हामी पुरै कोशीको घेराभित्र छौ, रसुवाको घटनाले अब धेरै दिन बस्न हुँदैन भनेर संकेत दिइ सक्यो,’ बुद्दिमानले भने ।
बेलकाको डुम्रीबोटमा २०७९ साउन अन्तिम साता कोशीले धार परिवर्तन गरेर पश्चिम मानववस्तीमा पस्दा त्यतिबेला पनि बराहक्षेत्र वडा नं. ६ र ९ सँगै बेलकाका केही वडालाई तहसनहस बनाएको थियो । ठूलो संख्या विस्थापित भएर पछि पुनःस्थापित भएका थिए ।
कोशीले धार परिवर्तन गरेर वस्तीलाई क्षती गर्दा बराहक्षेत्र वडा नं. ६ र ९ का बासीन्दाबाहेक उदयपुरको बेलका नगरपालिका वडा नं. २ र ३ का वस्तीलाई पनि असर गर्छ ।
सप्तकोशी मुख्य भँगालो पार गरेर गरेसँगै करिव ३ किलोमिटर पश्चिममा रहेको पश्चिमी भंगालो छेउ बाटै स–साना कच्ची घरहरू छन् ।
जताततैबाट हिड्न सकिन्छ, जहाँ बाटाहरु छैनन् । त्यहाँ झण्डै १० हजार हाराहारी घर परिवार छन् । एउटा घरमा चार जनादेखि १७ जनासम्म संख्या छ । अर्जुन चन्द्रवंशीकै घरमा चार भाई छोराका परिवारसहित १७ जना छन् ।
मधेशको आदिवासी चन्दवंशी लगायत सबैखाले जातजाती पहाडका राई, लिम्बु, ब्राम्हण क्षेत्री, मगरको बसोबास भएको श्रीलंका टापुमा पूर्व र पश्चिममा कोशी नदीले घेरिएको छ । २०४५ सालसम्म कोशीका दुबै किनारामा तटबन्ध थिएनन् । कोशी पश्चिमबाट बग्थ्यो ।
त्यसबेला श्रीलंका टापु थिएन । अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो ।
अहिले मदन भण्डारी राजमार्ग विस्तार भएसँगै श्रीलंका टापु बराहक्षेत्रबाट बेलका हुँदै दक्षिणतर्फबाट पुग्न सकिन्छ । २०७२ सालअघिसम्म चतरामा पुल नबन्दा श्रीलंका टापुका बासीन्दा सप्तकोशीको पूर्वी तटबन्ध प्रकाशपुर राजावास क्षेत्रबाट काठको डुङ्गामा आउँजाउँ गर्थे ।
यसरी डुङ्गामार्फत कोशी नदी तर्दा २०६३ साल र २०७४ सालमा धेरैजनाको ज्यान गएको थियो ।
















Discussion about this post