इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुस्थित टाइमलेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ।
दिगो पर्यटन परियोजना र नेपाल पर्यटन बोर्डको आयोजनामा, होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशको संयोजन तथा श्रीअन्तु पर्यटन व्यवसायी संघ इलामको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो। असोज ४ गतेदेखि सुरु भएको तालिम असोज ७ गतेसम्म सञ्चालन हुनेछ।
होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष मणिन्द्रबहादुर कट्वालको अध्यक्षता तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तथा कार्यक्रम संयोजक तेजबहादुर पुरीले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा सहभागीहरूले स्थानीय तथा निजी क्षेत्रको लगानी र प्रयासबाट अन्तु महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको बताएका थिए। पर्यटकको आगमन बढ्दै गए पनि सडक तथा अन्य पूर्वाधारमा समस्या रहेको भन्दै त्यसको समाधानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको मन्त्री लिम्बूले बताउनुभयो।
तालिममा आतिथ्य सत्कार, पर्यटकसँग गरिने व्यवहार, पर्यटन व्यवसायमा आवश्यक सेवा तथा व्यावसायिक दक्षतालगायतका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
चारदिने तालिममा प्रशिक्षक यज्ञराज कडरिया र डिजिका कार्कीले प्रशिक्षण दिनेछन्। तालिममा होटल तथा पर्यटन व्यवसायसँग आबद्ध व्यवसायी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको छ।
















Discussion about this post