उदयपुर । उदयपुर जिल्लामा चालू आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ दुई महिनाको अवधिमा ४९ जनामा डेङ्गूको सङ्क्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन लौकाजी राईका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर ४६ जनामा मात्रै डेङ्गू सङ्क्रमण देखिएको थियो। तर चालू आर्थिक वर्षको पहिलो दुई महिनामै सङ्क्रमितको सङ्ख्या ४९ पुगेको हो।
दुई हजार ३८४ जनाको डेङ्गू परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको राईले जानकारी दिनुभयो। सङ्क्रमितमध्ये त्रियुगा र बेलका नगरपालिकामा २३/२३ जना, चौदण्डीगढी नगरपालिकामा २ जना र कटारी नगरपालिकामा १ जना रहेका छन्।
कोशी प्रदेशमा साउन र भदौमा सबैभन्दा बढी झापामा ४३३ जनामा डेङ्गू सङ्क्रमण देखिएको छ। यस्तै खोटाङमा ७२ जना र उदयपुरमा ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ।
डेङ्गू सङ्क्रमणको जोखिम बढ्दै गएपछि त्रियुगा नगरपालिकाले लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ। साथै विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
अभियानमा बजार क्षेत्रका वर्कसप तथा ग्यारेज, कवाडी तथा फोहोरजन्य सामग्री व्यवस्थापनमा संलग्न व्यवसायी, निर्माण व्यवसायी, शिक्षक, आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका, युवा क्लबका सदस्य तथा कलेज तहका विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ।
डेङ्गू सार्ने लामखुट्टेले जमेको सफा पानीमा समेत प्रजनन गर्ने भएकाले घर तथा वरपर पानी जम्न नदिने, टायर, गमला, बोतल, ड्रमलगायत पानी जम्न सक्ने सामग्रीको उचित व्यवस्थापन गर्ने र टोल तथा समुदायमा नियमित सरसफाइ गर्ने कार्यलाई अभियानको मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ।
















Discussion about this post