इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबारदेखि सुरु भएको अधिवेशनअन्तर्गत बिहीबार बिहान केसी सर्वसम्मत सभापति चयन भएका हुन् ।
सभापतिमा निर्वाचित भएपछि केसीले इटहरी कांग्रेसको आफ्नै पार्टी कार्यालय निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । हाल कांग्रेस इटहरीको आफ्नै भवन छैन । उनले भाडाको घर छाडेर सुविधासम्पन्न पार्टी कार्यालय स्थापना गर्ने योजना सुनाएका छन् ।
त्यसैगरी, नेतृत्व सम्हालेको केही महिनाभित्रै कांग्रेस सभापति तथा राष्ट्रियस्तरका युवा नेता गगन थापालाई इटहरी ल्याएर पाँच हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने कार्यक्रम आयोजना गर्ने उनले बताएका छन् ।
केसी यसअघि दुईपटक नगर सभापतिमा हेमकर्ण पौडेलसँग पराजित भएका थिए । पराजित भएपनि उनले पार्टीप्रतिको सक्रियतालाई निरन्तरता दिएका थिए । १३औँ र १४औँ महाधिवेशनमा सभापति पदमा पराजित विकास केसी तेस्रोपटक सभापति पदका उम्मेदवार बनेका हुन् ।
नेविसंघका पूर्व केन्द्रीय उपसभापतिसमेत रहेका केसी हाल जनता बहुमुखी क्याम्पसको अध्यक्षसमेत छन् ।
सभापति पदका लागि बालकृष्ण विष्ट र कोविदजंग कार्की चुनावी मैदानमा थिए । कार्कीले बुधबार नै सहमतिका लागि आफू चुनावी मैदानमा नजाने बताएपनि विष्टले भने चुनावी मैदानमै जाने अडान राखेका थिए ।
तर, अन्तिम समयमा आएर १५ औँ महाधिवेशनमा सहमतिले पार्टीलाई एकढिक्का बनाउने बताउँदै विष्टले सभापतिमा केसीलाई समर्थन गरेका हुन् ।
विष्ट यसअघि १४ औँ महाधिवेशनमा केसीकै प्यानलबाट इटहरी नगर उपसभापतिमा निर्वाचित भएका थिए ।
सभापति पदमा निर्विरोध निर्वाचित भएपछि वर्तमान नगर सभापति हेमकर्ण पौडेलको सक्रियतामा उपसभापतिसहित अन्य पदहरूमा पनि सहमतिको प्रयास गरिदैँछ ।
पदाधिकारी तथा सदस्यहरूको टुंगो भने लाग्न बाँकी रहेको छ ।
















Discussion about this post