विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा २०८३ असोज ७ गते एकैदिन २७ वटा सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर र २६ जना सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार सबैभन्दा धेरै दुर्घटना मोरङमा भएका छन् । मोरङमा ट्याङकर, स्कुटर, टिपर, ट्रक, मोटरसाइकल, सिटी सफारीलगायतका सवारी साधन संलग्न १४ वटा दुर्घटना भएका छन् ।
ती दुर्घटनामा अधिकांश घाइतेको अवस्था सामान्य रहे पनि केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
झापामा भएका दुर्घटनामध्ये अर्जुनधारामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका ४५ वर्षीय साईला माझीको उपचारका क्रममा मृत्यु भएको छ । उनलाई सुरुमा शनिश्चरे अस्पताल र पछि बीएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–१३ दनुवारी चोकमा मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा चालक ४४ वर्षीय राजदेव साह गम्भीर घाइते भएका छन् । उनलाई विराट टिचिङ अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तितिरेमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सुनसरीको इनरुवा, बराहक्षेत्र र इटहरी क्षेत्रमा पनि विभिन्न सवारी दुर्घटना भएका छन् । इनरुवामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक गम्भीर घाइते भएका छन् भने बराहक्षेत्रमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएकी छन् ।
प्रहरी विवरणअनुसार अधिकांश दुर्घटनाको कारण तीव्र गति, चालकको लापरबाही, लेन अनुशासन उल्लङ्घन, सडकको अवस्था तथा बाटो काट्ने क्रममा सावधानी नअपनाउनु रहेको देखिएको छ । केही घटनामा मादक पदार्थ सेवन नगरेको उल्लेख भए पनि केही दुर्घटनामा चालकले मापसे गरेको विवरणसमेत छ ।
यसैगरी, असोज ८ गते बिहान विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सामान्य र पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई कोशी अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
















Discussion about this post